अभियन्ता डा केसी र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता

२०७८ पुष १५ गते, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीबीच बालुवाटारमा वार्ता गरेका छन्।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा केसी र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

भेटवार्तामा डा केसीले यही पुस ११ गते राखेका सातबुँदे मागबारे छलफल भएको वार्तामा सहभागी डा केसीका सहयोगी प्रितम सुवेदीले बताए।

वार्तामा सुवेदीसहित मोहना अन्सारी, डा विष्णु पोखरेल र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए। 

अघिल्लो पटकको भेटमा प्रधानमन्त्री देउवाले डा केसीसँग गरेका प्रतिबद्धताबारे पनि छलफल भएको थियो।

डा केसीले गत आइतबार विज्ञप्ति जारी गरी भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई तत्काल बर्खास्त गरी न्यायिक आयोग बनाएर छानबिन सुरु गर्न माग गरेका थिए।

उनले खगेन्द्रप्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट बर्खास्त गर्नुपर्ने, अवैध रुपमा अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीलगायत सातबुँदे माग अघि सारेका छन्।

यसअघि आफूसँग सरकारले गरेका विभिन्न सहमतिसमेत पूरा गर्नुपर्ने नभए फेरि सत्याग्रह सुरु गर्ने चेतावनी डा केसीले दिएका छन्।

95 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal