अस्थिरता सिर्जना गर्न अविश्वासको प्रस्ताव ल्याइयो: मुख्यमन्त्री राई

२०७७ फाल्गुन ७ गते, शुक्रबार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको बताउनुभएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावले प्रदेशमा अस्थिरताको सिर्जना भएता पनि विधिसम्वत आएको प्रस्तावलाई डटेर सामना गर्ने समेत उद्घोष गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विधि सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ, सरकार भाग्न खोजेको छैन, पन्छिन खोजेको छैन । हामीले केही वैधानिक प्रश्नहरु उठाएका छौं । ती प्रश्न हाम्रा पद र कार्यकालसँग सम्बन्धित छैनन्, संविधान, कानुनबाट निर्देशित दलीय कानुन र दलीय वैधानिक व्यवस्थासँग सम्बन्धित छन्, त्यसमा हामी लचिलो हुन सक्दैनौं ।’

प्रदेश सरकारले जनताको शीर झुक्ने कुनै काम नगरेको मुख्यमन्त्री राईले उल्लेख गर्दै प्रचण्ड–माधव समूहतर्फ इंगित गर्दै भन्नुभयो, ‘कुहिएका फल र सुकेका पत्ताहरु झरे, तर हामी चुकेका छैनौं । सिंगो प्रदेश र प्रदेशवासी जनताको शीर झुक्ने कुनै काम गरेका छैनौं, यो कुरा पनि शीर ठाडो पारेर भन्न चाहन्छु ।’

देश ताजा जनादेशका लागि निर्वाचनमा गएको बताउँदै आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन हुने बताउँदै उहाँले भन्नुभयो, ‘निर्वाचन हाम्रो चाहना थिएन । देशमा अराजकता सिर्जना गर्ने, अस्थिरता पैदा गर्ने प्रयास भएको कारणले प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु भएको छ ।’

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर ओली समूहले अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिएको छैन । सत्तारुढ दलले नै प्रदेशसभा बैठक अबरुद्ध गर्दै आएको छ ।

168 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal