आज र भोलि पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवार र सोमवार पहाडी भू-भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने जनाइएको छ।
राति पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतः सफा रहनेछ।
सोमवार पहाडी भू-भागमा सामान्य बदली रही पहाडी भू-भागको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।