एमाले आजदेखि थाल्यो १७ दिने कार्यकर्ता प्रशिक्षण

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौं । नेकपा एमालेले आजदेखि स्थानीय तह निर्वाचनको तयारीका लागि १७ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

प्रदेश १ मा आजदेखि सुरु भएको प्रशिक्षण फागुन १७ मा सुदूरपश्चिम प्रदेशको प्रशिक्षणसँगै समापन हुनेछ। अध्यक्ष केपी शर्मा ओलीले गत यो कार्यक्रमको भर्चुअल उद्घाटन गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको कार्यदिशा, एमालेले संघीय र प्रदेश सरकार हुँदा गरेका विकास निर्माण, सामजिक सेवा, कुटनीतिक कामका बारेमा जानकारी गराइने छ।

यसैगरी स्थानीय तहको निर्वाचनको तयारी, स्थानीय तहमा हालसम्म भएका राम्रा कामहरु प्रशिक्षणका मुख्य विषय छन्। यसैगरी स्थानीय तहको आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले अपनाउनु पर्ने रणनीति, स्थानीय पार्टी कमिटीको भूमिका आदिका बारेमा विस्तृत रुपमा प्रशिक्षणमा छलफल गरिने स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए।

प्रशिक्षणका लागि ६ वटा प्रदेशमा पार्टीका उपाध्यक्षले नेतृत्व गर्नेछन्। लुम्बिनी प्रदेशमा महासचिव शंकर पोखरेलले नेतृत्व गर्ने उपमहासचिव प्रदिप ज्ञवालीले जनाकारी दिए।

ज्ञवालीका अनुसार प्रदेश १ मा उपाध्यक्ष विष्णु पौडेल, मधेस प्रदेशमामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा युवराज ज्ञवाली लुम्बिनीमा महासचिव शंकर पोखरेल, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रशिक्षणको नेतृत्व गर्नेछन्। हरेक प्रदेशमा ६ जना प्रशिक्षक खटाइएको छ।

57 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal