प्रचण्ड द्धारा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको युद्ध आफूहरूले जित्नुपर्ने बताएका छन् ।
मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले प्रतिनिधि सभा विघटनपछि उक्त मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन्। ‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास छ,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त मुद्दा अदालतमा बहसपछि हेर्दाहेर्दैमा छ।
प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप लगाएका छन्।
‘धेरै दु:ख र मेहनतले पार्टी एकता गरिएको हो। एकताको झन्डा हामी उठाएका छौं। केपीजीले पार्टी, संविधान र लोकतन्त्रलाई विघटन र विसर्जनतिर लैजानुभएको छ। पार्टीलाई फुटतिर लैजानुभएको छ,’ उनले भने, ‘नयाँ प्रकारको युद्ध हामीले जित्नुपर्छ। जनता लडिरहेको छ। शब्दमा यो शान्तिपूर्ण युद्ध हो। युद्धचाहिँ युद्ध नै हो।’