प्रचण्ड समूह पार्टीबाट भागेपछि मात्रै संवैधानिक आयोगमा नियुक्ति सम्भव भयो – प्रम ओली

२०७७ फाल्गुन ८ गते, शनिबार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयाेगहरूमा पदाधिकारी नियुक्तिपछि प्रचण्ड समूह आत्तिएकाे बताउनु भएकाे छ । 

नेकपा प्रदेश-१ ले शनिबार विराटनगरमा गरेकाे विशाल जनसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूह पार्टीबाट भागेपछि मात्रै संवैधानिक आयोगहरूमा नियुक्ति सम्भव भएको बताउनुभयाे ।

आयाेगहरूमा नियुक्ति गरेपछि साे समूह डराएकाे बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘उहाँहरू (प्रचण्ड समूह) ले रोक्ने प्रयास गर्नुभयो, उहाँहरू भागेपछि नियुक्ति गर्‍याैं, उहाँहरू आत्तिनुभयाे, उहाँहरू सुकुम्बासी समस्या समाधान गर्न दिनुहुन्न, भूमिसम्बन्धी समस्या समाधान गर्न दिनुहुन्न, उहाँहरू भागेपछि नियुक्ति गर्‍यौं, उहाँहरूले माघ २२ गते आमहड्ताल गर्नुभयो, अझै विरोध गर्दै हुनुहुन्छ ।’

संवैधानिक निकायहरूमा भएको नियुक्तिकाे विरोध गरेर प्रचण्ड समूहले भूमिहिन, सुकुम्बासी, गरीब, आदिवासी जनजाति, मधेसी, थारू र दलित समुदायकाे विरोधी बनेकाे उहाँकाे भनाइ छ ।

आफूहरू सुशासन र विकासकाे पक्षमा अगाडि बढिसकेकाे भन्दै उहाँले व्यवधानहरू पन्छाएर अगाडि बढ्ने बताउनुभयाे । समृद्ध नेपाली सुखी नेपाली अभियानलाई जनताकाे एकताबाट पूरा गर्ने भन्दै उहाँले त्यसलाई कसैले राेक्न नसक्ने बताउनुभयाे । देशभर विकासकाे लहर आएकाे पनि प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

प्रचण्ड समूहले सरकारकाे कामलाई दौडीदौडी विरोध गरिरहेको भन्दै उहाँले ती सबैलाई पन्छाएर अगाडि बढ्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘हामी निरन्तर अगाडि बढ्छौं तर उहाँहरूले हामीले गरेको विकासकाे विराेधमा दौडीदौडी कराइरहनु भएको छ, हामी अगाडी बढ्दै जान्छाैं, उहाँहरू कराइरहनुहुन्छ ।’

119 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal