प्रदेश १ मा थप एक नेकपा सांसदद्वारा हस्ताक्षर फिर्ता

२०७७ फाल्गुन ६ गते, बिहीबार

काठमाडौं । प्रदेश १ सरकार विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने थप एक सांसद्ले आफ्नो हस्ताक्षर फिर्ता लिनुभएको छ ।

समानुपातिक तर्फकी प्रदेश सभा सदस्य मोरङकी वसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिएको निवेदन बिहीबार प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएको छ ।

नेकपाको सरकार विरुद्ध नेकपाको सांसद्को हैसियतले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नठानेकोले सो प्रस्ताव फिर्ता लिएको उहाँको निवेदनमा उल्लेख छ । ‘तसर्थ, उक्त प्रस्तावको हस्ताक्षर फिर्ता लिएको व्यहोरा निवेदन मार्फत अनुरोध गर्दछु’, निवेदनमा भनिएको छ ।

योसँगै प्रदेश १ सरकार विरुद्ध दर्ता भएको प्रस्तावको हस्ताक्षर फिर्ता लिने सांसद्को संख्या चार पुगेको छ ।  शेरधन राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै नेकपाका प्रदेश १ का ३७ सांसद्ले हस्ताक्षर बुझाएका थिए ।

नेकपाका प्रदेश १ मा ६६ सांसद् छन् । अब अविश्वास प्रस्तावको पक्षमा ३३ सांसद् रहेका छन् ।

प्रदेश सभामा कूल ९३ सांसद् छन् । सरकार विरुद्ध अविश्वास प्रस्ताव पास हुन ४७ सांसद् आवश्यक पर्दछ । सो संख्या हस्ताक्षरकर्तासँग छैन ।

सरकार विरुद्ध अविश्वास प्रस्ताव पास गर्न प्रचण्ड समूहका सांसदले नेपाली कांग्रेसको साथ लिनुपर्छ । यस विषयमा कांग्रेसले केही बोलेको छैने ।

प्रदेश १ मा नेपाली कांग्रेसका २१ सांसद् छन् । त्यस्तै समाजवादी पार्टीका तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र संयुक्त लोकतान्त्रिक मञ्चका एक जना सांसद् छन् ।

90 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal