बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार

२०७७ फाल्गुन ४ गते, मंगलवार

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति प्राडा राजकुमार रौनियारले आफ्नो काज आफैँ स्वीकृत गरेको तथ्य खुलेको छ। राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा उपकुलपति रौनियारले आफैँ काज स्वीकृत गरेको पाइएको हो।

उनले काठमाडौंदेखि विराटनगरसम्म ४० पटक गरेको हवाईयात्राको औचित्य पुष्टि गर्ने प्रमाण फेला परेको छैन । रौनियारविरुद्ध डेढ वर्षदेखि आफ्नो काज आफैँ स्वीकृत गर्दै पद जोगाउन प्रतिष्ठानको खर्चमा हवाईजहाजमा काठमाडौं जाने–आउने गरेको आरोप छ। यसका साथै तीनतारे होटलमा बस्ने, खाने गरेर करोडजति रकम हिनामिना गरेको भन्दै परेको उजुरीसम्बन्धी सतर्कता केन्द्रले छानबिन गरेको हो।

छानबिनमा उपकुलपति रौनियारले सन् २०१८ जुलाई ६ देखि सन् २०१९ मार्चसम्म पटक–पटक गरी २ लाख २८ हजार ८ सय बराबरको हवाई यात्रा गरेको देखिएको छ। सन् २०१८ अगस्ट ९, २४, २७, अक्टोबर ५, १०, नोभेम्बर २१, २३, २६ र सन् २०१९ फेब्रुअरी २१ को बोर्डिङ पास पेस नगरेको तथा सन् २०१८ डिसेम्बर २३ को बोर्डिङ पास अर्कै व्यक्तिको नाममा पेस गरेको छानबिनमा देखिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

420 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal