वरिष्ठ नेता पौडेलले लोकतन्त्रको दुहाइ दिँदै, अदालतलाई धम्क्याउँदै

२०७७ फाल्गुन ७ गते, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेस नेपालमा सबैभन्दा लामो प्रजातान्त्रिक इतिहास भएको पार्टी हो । प्रजातन्त्र स्थापना र संरक्षणमा नेपाली कांग्रेसको निक्कै ठूलो योगदान छ । स्वतन्त्र र निष्पक्ष न्यायापालिका लोकतन्त्रको मेरुदण्ड हो । न्यायालयलाई स्वतन्त्र रुपले काम गर्न दिनु हरेक लोकतन्त्र पक्षधरको दायित्व हो । त्यसैले लोकतान्त्रीक पार्टीको नेताको हैसियतले प्रतिनिधि सभा विघटनको मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतले जे फैसला गर्छ त्यो कांग्रेसले सहज रुपमा स्वीकार्ने अभिव्यक्ति दिँदै आउनुभएको छ ।

यसको विपरित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने पछिल्लो समय सो मुद्दामा पुष्पकमल दाहाल प्रचण्डकै शैलीमा अदालतलाई धम्क्याउन लाग्नु भएको छ । नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलनलाई बिहीबार पोखरामा सम्बोधन गर्दै पार्टी लाइन र लोकतन्त्रको मर्म विपरित पौडेलले अदालतमाथि प्रहार गर्नुभयो ।  

कार्यक्रममा बोल्दै पौडेलले भन्नुभयो, ‘सबै कुरा अदालत भनेर पन्छाएर हिँडियो भने हाम्रो के काम, पार्टी र नेताको के काम ।’ उहाँले अगाडि थप्नुभयो, ‘कसले के गर्छ भनेर हेर्ने हो कि लोकतन्त्र रक्षाका लागि आफैं अघि सर्ने र बढ्ने हो ?’

अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ सोही अनुसार हुनुपर्ने भन्दै पौडेलले अदालतलाई सचेत समेत गराउनुभयो । पार्टीमा झगडा प¥यो भनेर प्रतिनिधि सभा माथि प्रहार गर्ने काम भएको भन्दै उहाँले सरकारको समेत आलोचना गर्नुभयो ।

संविधानलाई नै समाप्त गर्ने गरी प्रधानमन्त्री केपी ओलीले कदम चालेको बताउँदै संविधानलाई अदालतले बचाउनु पर्ने पौडेलको तर्क थियो । ‘यसकारण हामीले अदालतलाई पनि किन खबरदारी नगर्ने ?’, पौडेलले अदालतलाई खबरदारी गर्नुभयो ।  पौडेलले अझ अगाडि भन्नुभयो, ‘संसद् पुनःस्थापना हुन्छ, हुनैपर्छ, नभए मुलुक बर्बाद हुन्छ ।’

99 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal