सरकार द्वन्द्वपीडितको साथमा छ, समस्या समाधान गर्न विशेष कार्यदल बनाउँछौं: प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वबाट पीडित नागरिकको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसइवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानुपर्छ । जतापट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उसका अभिभावक उसमा आश्रित सन्तानको पीडाहरु उस्तैउस्तै छन् ।’
पेन्सन आदि केही पनि नपाउने द्वन्द्व पीडितको परिवार अरु भन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्दै द्वन्द्वरत कुनै पक्षमै नभएका राजनीतिक कार्यकता र सर्वसाधारण जनता पनि थुपै संख्यामा पीडित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले भने, ‘यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निश्कर्ष निकाल्नुपर्छ ।’
कार्यक्रममा द्वन्द्व पीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रीता सेनले सशस्त्र द्वन्द्व कालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको जानकारी गराउनुभयो । ती सुरक्षाकर्मी आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ज्यान जोखिममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुनेछ ।’